सामाजिक सद्भाव कायम राख्न अपील ; सुनसरीको देवानगञ्ज घटनाको आयोगले अनुसन्धान गर्ने । ११ साउन, २०८३
प्रेस विज्ञप्ति
११ साउन, २०८३
सामाजिक सद्भाव कायम राख्न अपील
सुनसरीको देवानगञ्ज घटनाको आयोगले अनुसन्धान गर्ने
सुनसरीको देवानगञ्जमा दुई समुदाय बिच भएको झडप र झडपपछि प्रहरीको गोली लागी ओमप्रकाश मेहताको मृत्यु भएको घटनाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगको कोशी प्रदेश कार्यालय विराटनगरले प्रारम्भिक अनुगमन गरिरहेको छ । आयोगले प्रमुख जिल्ला अधिकारी, सुनसरीका प्रहरी प्रमुख, अस्पताल प्रशासन तथा स्थानीयहरुसँग घटनाको बारेमा जानकारी लिइरहेको छ । आयोगले उक्त घटनाको मानव अधिकारको दृष्टिबाट सूक्ष्म अनुसन्धान सुरु गरिसकेको छ ।
पोलमा झण्डा राख्ने विषयमा दुई समुदाय बिच विवाद भएको, डिजे बजाउने क्रममा विवाद उत्कर्षमा पुगेको, विवाद बढ्दै जाँदा दुई पक्ष बिच तोडफोड र झडप सुरु भएको, झडपपछि प्रहरीले स्थिति नियन्त्रणमा लिने क्रममा गोली चलाएको, प्रहरीको गोली लागि ओमप्रकाश मेहताको मृत्यु हुनुका साथै ९ जना घाइते भएका र घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको अनुगमनका क्रममा पाइएको छ । घाइतेहरुमध्ये ४ जनाको न्युरो अस्पताल, ४ जनाको विराट नर्सिङ होम र १ जनाको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको आयोगलाई जानकारी प्राप्त भएको छ ।
घटनापश्चात घटनाको विरोधमा ठाउँठाउँमा टायर बालिएको तथा चोकमा आन्दोलनकारीले लाठी, रड लगायतका समाग्री बोकेर प्रदर्शन गरिरहेका पाइएको छ । कप्तानगञ्जलगायतका स्थानहरुमा हाल स्थिति तनाबग्रस्त भएको र सुरक्षा स्थितिलाई नियन्त्रणमा लिन सुनसरीको कप्तानगञ्जमा सेना परिचालन गरिएको जानकारी प्राप्त भएको छ ।
उक्त घटनापश्चात् सुनसरीमा देखा परेको कमजोर शान्तिसुरक्षाको स्थितिलाई मजबुत बनाउन, घटनाको अनुसन्धान गरी दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरुको निशुल्क र प्रभावकारी उपचार गर्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ । साथै, शान्तिपूर्ण रुपमा वार्ता र संवादकै माध्यमबाट विवादको समाधान खोजी वातावरणलाई सहज बनाउँदै सामाजिक सद्भाव कायम राख्ने कार्यमा सहयोग पुर्याउन आयोग राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी एवम् सर्वसाधारणलाई अनुरोध गर्दछ ।
……………………..
डा. टीकाराम पोखरेल
प्रवक्ता/सहसचिव