युद्धप्रभावित मुलुकमा रहेका नेपालीहरुको सुरक्षा र उद्धारमा ध्यान देऊ । १७ फागुन २०८२
प्रेस–विज्ञप्ति
१७ फागुन २०८२
युद्धप्रभावित मुलुकमा रहेका नेपालीहरुको सुरक्षा र उद्धारमा ध्यान देऊ
इरानमा भएको इजरायल–अमेरिकी आक्रमणका कारण मध्यपूर्वी मुलुकहरुमा देखिएको अन्यौलग्रस्त अवस्था र त्यसबाट त्यस क्षेत्रमा रहेका नेपाली नागरिकहरुमा पर्न जाने प्रभावका सम्बन्धमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । युद्धका कारण नेपालीहरुमा पर्न जाने असुविधाप्रति आयोग गम्भीर चासो र चिन्ता प्रकट गर्दछ ।
राज्य नागरिकको अविभावक भएको हुँदा विश्वका जुनसुकै मुलुकमा रहेका भए पनि आफ्ना नागरिकको सुरक्षा, संरक्षण र आवश्यकताअनुसार उद्धार गर्नु राज्यको दायित्वभित्र पर्दछ । यस विषम परिस्थितिमा सरकारले युद्धग्रस्त तथा प्रभावित देशहरुमा रहेका आफ्ना नागरिकको सुरक्षा र संरक्षणका लागि तथ्याङ्क सङ्कलन गर्ने, पछिल्लो वस्तुस्थितिको बारेमा आवश्यक जानकारी लिने र जोखिममा रहेका नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन तत्काल पहलकदमी लिनुपर्दछ । यसका लागि सरकारले आफ्ना कुटनीतिक नियोगहरुको प्रभावकारी परिचालन गर्नुका साथै सम्बन्धित देशका गैरआवासीय नेपाली सङ्घ/सङ्गठनहरुसँग समेत समन्वय र सहकार्य गर्नु आवश्यक छ ।
अतः युद्धग्रस्त तथा प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकहरुको सुरक्षा र संरक्षणको लागि तथ्याङ्क सङ्कलन गरी जोखिमको आँकलन गर्न र अतिप्रभावित क्षेत्रमा रहेका नागरिकहरुको उद्धार गरी स्वदेश फर्काउन आयोग नेपाल सरकार तथा विदेशस्थित कुटनीतिक नियोगहरुलाई आग्रह गर्दछ । साथै, नेपाली नागरिकको सुरक्षा र उद्धारका कार्यमा आवश्यक समन्वय र सहयोग गर्न आयोग ती देशहरुमा रहेका गैरआवासीय नेपाली सङ्घ/सङ्गठनहरुलाई समेत अनुरोध गर्दछ ।
……………………..
डा. टीकाराम पोखरेल
प्रवक्ता/सहसचिव