निर्वाचन र शान्ति सुरक्षामा असर पर्ने घृणाजन्य अभिव्यक्ति बन्द गर शान्तिसुरक्षाको अवस्थालाई थप मजबुत बनाऊ। १३ माघ, २०८२
प्रेस–विज्ञप्ति
१३ माघ, २०८२
निर्वाचन र शान्ति सुरक्षामा असर पर्ने घृणाजन्य अभिव्यक्ति बन्द गर
शान्तिसुरक्षाको अवस्थालाई थप मजबुत बनाऊ
आगामी फागुन २१ गते हुने आसन्न प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा विगत केही दिनयता विभिन्न राजनीतिक दलका जिम्मेवार व्यक्तिहरुबाट एकअर्काप्रति आक्षेप लगाउने, घृणाजन्य अभिव्यक्तिहरु दिने तथा एक अर्काप्रति गरिएको अमर्यादित आरोपप्रत्यारोपप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।
यस प्रकारका घृणाजन्य अभिव्यक्तिले अराजकतालाई प्रश्रय दिने र निर्वाचनको समयमा शान्तिसुरक्षामा समेत असर पर्ने देखिन्छ । नेपालको संविधान र मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानूनहरुले अभिव्यक्ति तथा विचारको स्वतन्त्रताको प्रत्याभूति गरेको भए तापनि अरुको मर्यादामा चोट पुग्ने र शान्ति सुरक्षामा आँच पुग्न सक्ने विषयलाई विशुद्ध विचार र अभिव्यक्ति स्वतन्त्रताको मात्र विषय मान्न सकिँदैन । आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारमा पर्नसक्ने असरप्रति जिम्मेवार व्यक्तिले सधैँ ध्यान पुर्याउनु आवश्यक हुन्छ ।
अतः कसैले पनि नेपालको संविधान, कानून र मानव अधिकारका अन्तर्राष्ट्रिय मूल्यमान्यता विपरीत घृणाजन्य अभिव्यक्ति नदिन, सामाजिक सञ्जालको प्रयोग गर्दा शिष्ट एवम् मर्यादित भएर एकअर्काप्रति मानव अधिकारमैत्री भाषाको प्रयोग गर्न, घृणायुक्त अभिव्यक्तिको प्रचारप्रसार नगर्न र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आयोग राजनीतिक दलका नेता, उम्मेदवार एवम् सर्वसाधारणलाई आग्रह गर्दछ । साथै, यसप्रकारका घृणाजन्य अभिव्यक्तिले समाजमा घृणा फैलाउनुका साथै शान्तिसुरक्षामा समेत चुनौती सिर्जना गर्नसक्ने हुँदा शान्तिसुरक्षालाई थप मजबुत बनाउन आयोग नेपाल सरकारलाई समेत निर्देशन गर्दछ ।
.............................
डा. टीकाराम पोखरेल
प्रवक्ता/सहसचिव