Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

जेष्ठ नागरिकको अधिकार सुनिश्चित गर। ११ पुस, २०८२

सन्दर्भ: पाँचौँ राष्ट्रिय जेष्ठ नागरिक दिवस
प्रेस–विज्ञप्ति
११ पुस, २०८२
 
जेष्ठ नागरिकको अधिकार सुनिश्चित गर 

आज नेपालमा पाँचौँ राष्ट्रिय जेष्ठ नागरिक दिवस हाम्रो साझा अभियान ः जेष्ठ नागरिकप्रति श्रद्धा र सम्मान भन्ने नाराका साथ मनाइँदै छ । जेष्ठ नागरिकहरुलाई सम्मान र अधिकारको सुनिश्चिततामा टेवा पुगोस् भन्ने उद्देश्यले वि. सं. २०७८ सालदेखि नेपालमा यो दिवस मनाउन सुरु गरिएको हो । 
हाल नेपालमा जेष्ठ नागरिकहरुको संख्या २९ लाख ७७ हजार ३ सय १८ रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार  जेष्ठ नागरिकहरुको वृद्धिदर ३.५ प्रतिशत रहेको छ । जनगणना २०७८ को समग्र जनसंख्याको वृद्धिदर ०.९२ प्रतिशत रहेकोमा जेष्ठ नागरिकको वृद्धिदर ३.५ प्रतिशत हुनुले अन्यको तुलनामा जेष्ठ नागरिकहरुको वृद्धि प्रतिशत बढी देखिन्छ ।  उल्लिखित तथ्याङ्कलाई हेर्दा आगामी दिनमा जेष्ठ नागरिकको संख्या अझ बढ्ने आँकलन गर्न सकिन्छ । औसत आयुवृद्धि, मृत्युदरमा कमी र स्वास्थ्यप्रति सचेतनाका कारण जेष्ठ नागरिकहरुको संख्या वृद्धि हुँदै गएको देखिएको छ । समाजको पुँजीको रुपमा जेष्ठ नागरिकमा रहेको ज्ञान, सीप, अनुभव र क्षमतालाई नयाँ पुस्तामा हस्तान्तरण गरी देश र समाज लाभान्वित हुन तीनै तहका सरकारले ठोस कदम चाल्नु आवश्यक छ ।
राष्ट्रिय मानव अधिकार आयोगले जेष्ठ नागरिकको अधिकार संरक्षण र संवद्र्धनलाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको 
छ । नेपालको संविधानको धारा ४१ मा व्यवस्था गरिएको जेष्ठ नागरिकको हक तथा जेष्ठ नागरिक ऐन, २०६३ को कार्यान्वयन अवस्था सम्बन्धमा आयोगले गरेको अध्ययनको क्रममा जेष्ठ नागरिकहरु आफ्नो अधिकारका बारेमा जानकार नहुनुका साथै उनीहरुले राज्यले प्रदान गर्ने सेवा सुविधाको प्रभावकारिताको अनुभूति गर्न नपाएको देखिएको छ । राज्यबाट प्रदान गरिएका स्वास्थ्य र यातायात सेवामा प्राथमिकतालगायतका सुविधाबाट ज्येष्ठ नागरिकहरु वञ्चितिका साथै पहुँचयुक्त नभएको अनुगमनको क्रममा पाइएको छ । कतिपय जेष्ठ नागरिकहरुले पारिवारिक विखण्डन, परिवारवाट हेला एवम् त्याग्ने काम र वृद्धाश्रममा लगेर राख्ने क्रमलाई संस्थागतीकरण गर्ने जस्ता प्रवृत्तिलगायतले परिवारका सदस्यसँगै नहुँदा एक्लो महसुस गर्नु परेको र उनीहरुको सम्मान, हेरचाह र मायामा समेत कमी आउँदा ज्येष्ठ नागरिकहरु अधिकारको उपभोगबाट बञ्चित हुनु परेको देखिन्छ ।  
अतः जेष्ठ नागरिकको अधिकारप्रति संवेदनशील हुँदै संविधान, ऐन र नीतिनियममा भएका व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयन गर्न, आवश्यकता पहिचान गरी जेष्ठ नागरिकको विषयलाई नीति, योजना, कार्यक्रम र बजेटको प्राथमिकतामा राख्न, सीप, अनुभवलाई अन्तरपुस्ता हस्तान्तरण गर्न र जेष्ठ नागरिकको सम्मानमा जोड दिन आयोग तीनै तहका सरकारलाई निर्देशन गर्दछ । साथै, जेष्ठ नागरिकको हक अधिकारको सुनिश्चितता र सम्मानका लागि आफ्नो कर्तव्य निर्वाह गर्न समेत आयोग परिवारका सदस्य र नागरिक समाजलाई समेत अनुरोध गर्दछ । 
..........................
 डा. टीकाराम पोखरेल
 प्रवक्ता/सहसचिव

 

Download