सन्दर्भ : अपाङ्गता भएका व्यक्तिहरुको ३४ औँ अन्तर्राष्ट्रिय दिवस; अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको संरक्षण र संबद्र्धनमा जोड दिन आग्रह ।१७ मङ्सिर २०८२ (३ डिसेम्बर २०२५)
प्रेस–विज्ञप्ति
सन्दर्भ : अपाङ्गता भएका व्यक्तिहरुको ३४ औँ अन्तर्राष्ट्रिय दिवस
१७ मङ्सिर २०८२ (३ डिसेम्बर २०२५)
अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको संरक्षण र संबद्र्धनमा जोड दिन आग्रह
हरेक वर्ष डिसेम्बर ३ लाई अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको रुपमा विश्वभर मनाइँदै आइएको छ । यस वर्ष Fostering disability inclusive societies for advancing social progress भन्ने अन्तर्राष्ट्रिय नारा र अपाङ्गता समावेशी समाजको प्रबद्र्धनः सामाजिक उन्नतिको संवद्र्धन भन्ने राष्ट्रिय नाराका साथ ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि मनाइँदैछ । यस दिवसको उपलक्ष्यमा आयोग सम्पूर्ण सरोकारवालाहरुलाई शुभकामना व्यक्त गर्दछ ।
राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको संरक्षण र संवद्र्धनका लागि निरन्तर कार्य गर्दै आइरहेको छ । अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका सम्बन्धमा संविधान र ऐनमा भएका व्यवस्थाहरुको कार्यान्वयन अपेक्षाकृत रुपमा हुन सकेको देखिँदैन । अपाङ्गता भएकै कारण आफ्नै घर परिवारबाट समेत विभेदको शिकार हुनुपरेको, सामाजिक दुव्र्यवहार र विभेद, घरेलु हिंसा, यौन दुव्र्यवहारमा पर्ने गरेको जस्ता तथ्यहरु पाइएका छन् । साथै, पहुँचयुक्त संरचनाहरुको अभाव, अपाङ्गताभित्रको विविधताका सम्बन्धमा खण्डीकृत तथ्यांकको अभावका कारण न्यायमा पहुँच नभएको, अपाङ्गता भएका व्यक्तिहरुले राज्यबाट प्रदान गरिएका सेवा, सुविधाको व्यवहारमा अनुभूति गर्न नपाएको आयोगले गरेको अनुगमनको क्रममा पाइएको छ ।
नेपाल अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, २००६ को पक्ष राष्ट्र बनेको छ । महासन्धिमा भएका व्यवस्थाहरुका साथै नेपालको संविधान, आपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४, नियमावली २०७७ तथा अन्य कानून र नीतिहरुले गरेका व्यवस्थाहरुको कार्यान्वयनको सुनिश्चित गर्नु राज्यको दायित्व हुन्छ ।
अतः अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकारको संरक्षण र संवद्र्धनका लागि प्रभावकारी कदम चाल्न, विद्यमान नीति तथा कानूनहरुको प्रभावकारी कार्यान्वयन गर्न, विद्यमान कानूनहरुको समयसापेक्ष संशोधन गर्न र संघ, प्रदेश तथा स्थानीय तहले आफना नीति, योजना, कार्यक्रम र बजेटमा अपाङ्गता भएका व्यक्तिहरुका सवाललाई प्राथमिकता दिन आयोग तीनै तहका सरकारलाई आग्रह गर्दछ ।
..........................
डा. टीकाराम पोखरेल
प्रवक्ता/सहसचि