शान्तिसुरक्षाको स्थिति मजबुत बनाउन आयोगको निर्देशन ; एक अर्काको अधिकारको सम्मान गर्न आग्रह । ४ मंसिर, २०८२
प्रेस विज्ञप्ति
४ मंसिर, २०८२
शान्तिसुरक्षाको स्थिति मजबुत बनाउन आयोगको निर्देशन
एक अर्काको अधिकारको सम्मान गर्न आग्रह
बाराको सिमरामा २०८२ मंसिर ३ गते नेकपा एमालेका कार्यकर्ता र जेन्जी समूहका बिच भएको घटना र सोपश्चात् उत्पन्न परिस्थितिप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । आयोगले उक्त घटनाको अनुगमन गरिरहेको छ ।
एमालेको भातृ संगठन राष्ट्रिय युवासंघ नेपालले मंसिर ३ गते बाराको परवानीपुरमा आयोजना गरेको मधेश प्रदेशस्तरीय पूर्व निर्धारित कार्यक्रममा भाग लिन सो पार्टीका केन्द्रीय नेताहरू सिमरा जान लागेको र स्थानीय जेन्जी समूहका संयोजकले मंसिर २ र ३ गते फेसबुकमार्फत गरेको आव्हानपछि सोही समयमा भदौ २३ र २४ गतेका मृतक तथा घाइतेहरुले न्याय नपाएको विषयमा सरकारलाई सचेत गराउने भन्दै बिहान करिब १०.३० बजे जेन्जी युवाहरू सिमरा चोकमा जम्मा भएकोमा सो स्थानमा नेकपा एमालेका कार्यकर्ता पुगेपछि दुई पक्ष बिच विवाद भई असामान्य परिस्थिति सिर्जना हुँदा पाँच जना युवा घाइते भएको देखिएको छ । त्यसपछि आक्रोशित भीड सिमरा विमानस्थलतर्फ अघि बढी विमानस्थल अगाडि झडप हुँदा एयरपोर्टको गेटमा समेत क्षति भएको, उडानहरु प्रभावति भएको, उडान प्रभावित हुँदा एमालेका नेताहरू सिमरा जान नसकेका र त्यसपछि स्थानीय प्रशासनले सिमरा क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको पाइएको छ । घाइतेहरूको नगर अस्पतालमा उपचार भएको र घाइते युवाहरूले आफूमाथि आक्रमण गर्ने व्यक्तिविरुद्ध स्थानीय प्रहरी कार्यालयमा जाहेरी दिएको भन्ने प्रारम्भिक जानकारी आयोगलाई प्राप्त भएको छ ।
देशमा विकसित राजनीतिक परिस्थिति र आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा समेत भइसकेको अवस्थामा यस्ता घटना हुनुले निर्वाचनको सहज वातावरण बन्न नसक्ने र शान्ति सुरक्षामा समेत गम्भीर असर पर्नेतर्फ नेपाल सरकार र सम्बन्धित सबै पक्ष गम्भीर हुन जरूरी छ । यस प्रकारको घटनाले संविधानको धारा १७ मा उल्लेखित स्वतन्त्रताको हक हनन हुनुका साथै निर्वाचनका सरोकारवालाहरु बिच आपसी सद्भावमा समेत प्रतिकूल प्रभाव पर्न जान्छ ।
अतः शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन, आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिन, सबै पक्षको विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने वातावरणको सिर्जना गर्न, घटनाको छानबिन गर्न एवम् घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ । साथै संयमताका साथ स्थितिलाई सामान्यीकरण गर्ने गराउने कार्यमा सहयोग गर्न समेत आयोग सम्बन्धित सबैमा आग्रह गर्दछ ।
…………………….
डा. टीकाराम पोखरेल
प्रवक्ता/सहसचिव