Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

नागरिक अधिकारको संरक्षण गर, संयमित रहन सबै पक्षलाई आग्रह ९ कार्तिक, २०८२

प्रेस विज्ञप्ति

९ कार्तिक, २०८२

नागरिक अधिकारको सम्मान गर

संयमित रहन सबै पक्षलाई आग्रह

मुलुकमा विकसित राजनीतिक घटनाक्रमपश्चात विभिन्न समूहले पुनः प्रदर्शन गर्न लागेको भनी विभिन्न माध्यमबाट आएका जानकारी र सोबाट शान्तिसुरक्षा र मानव अधिकारको उपभोगमा उत्पन्न हुने अवरोधप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।

शान्तिपूर्ण रुपमा भेला हुने, प्रदर्शन गर्ने, सभासम्मेलन गर्ने तथा आफ्ना मागहरु राख्ने नागरिकको मौलिक हक र मानव अधिकारको विषय हो । मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९ र नेपालको संविधानको धारा १९ मा विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारको व्यवस्था छ । ंनेपाल पक्षराष्ट्र बनेको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ को धारा १९ मा समेत प्रत्येक व्यक्तिलाई बिना हस्तक्षेप विचारहरु राख्न पाउने अधिकारको उल्लेख गरिएको छ । नागरिकका यस प्रकारका अधिकारहरुको सम्मान गर्ने र सो अधिकारको उपभोगको सहज वातावरण सिर्जना गर्ने दायित्व राज्यको हुन्छ । गत भाद्र २३ र २४ को आन्दोलनपश्चात् जेन्जी पुस्ताले उठाएका विभिन्न सवालहरुकोे समयमै उचित सम्बोधन हुनु आवश्यक छ ।

विगतका केही अभ्यासहरु हेर्दा प्रदर्शनहरु ध्वंशात्मक र हिंसात्मक हुन पुगेको तथ्यलाई ध्यानमा राखी आगामी दिनमा त्यसप्रकारका हिंसात्मक गतिविधि नहोउन् भन्नेतर्फ सचेत रहँदै प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सबै पक्ष जिम्मेवार हुनु आवश्यक छ । आगामी दिनमा हुने प्रदर्शनहरुमा घुसपैठ हुन नदिने दायित्व सरकार र प्रदर्शनकारी दुवैको हुन्छ । प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सुरक्षा निकायको संयमता, धैर्यता र विवेकपूर्ण व्यवहार अपेक्षित छ । त्यसैगरी, प्रदर्शनरत पक्षले पनि आफ्ना क्रियाकलापलाई शान्तिपूर्ण बनाउने, घृणायुक्त अभिव्यक्ति नदिने र उत्तेजनापूर्ण व्यवहारलाई नियन्त्रण गर्नु पर्ने कर्तव्य निर्वाह गर्नुपर्ने हुन्छ । समस्याको समाधान वार्ता र संवादबाट मात्र संभव हुन्छ भन्नेमा आयोग दृढ छ । हरेक समस्याको समाधान विधिको शासन, संविधान, कानून र मानव अधिकारको मूल्य मान्यताकै आधारमा शान्तिपूर्ण रुपमा खोजिनु पर्दछ ।

अतः नागरिकले राखेका मागहरु समयमै उचित संबोधन गर्न, समस्याको समाधानमा सबैको भूमिका सुनिश्चित गर्न तथा नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार एवम् मानव अधिकारको सम्मान र संरक्षण गर्न आयोग नेपाल सरकारलाई आह्वान गर्दछ । साथै, आफ्ना मागहरु शान्तिपूर्ण रुपमा राख्न आयोग प्रदर्शनरत पक्षलाई समेत आह्वान गर्दछ ।

  .........................

 डा. टीकाराम पोखरेल

 प्रवक्ता/सहसचिव

Download