विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि प्रभावकारी कदम चाल ; मनसुनको अवस्थामा सावधानी अपनाउन आग्रह । १८ असोज, २०८२
प्रेस विज्ञप्ति
१८ असोज, २०८२
विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि प्रभावकारी कदम चाल
मनसुनको अवस्थामा सावधानी अपनाउन आग्रह
देशका विभिन्न भूभागमा सुरु भएको मनसुनी वर्षाबाट हुनसक्ने बाढी, पहिरोका कारण उत्पन्न संभावित जटिल अवस्था र सोबाट मानव अधिकारको उपभोगमा पर्न सक्ने अवरोधप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । विपद्मा जनधनको क्षति नहोस् भन्नका लागि सबैले संयमता, धैर्यता, सक्रियता र विवेकपूर्ण ढंगले आआफ्नो क्षेत्रबाट उच्च सतर्कता अपनाउनु आवश्यक छ ।
प्राकृतिक विपद्पूर्वका कार्यहरुमा उचित ध्यान दिनु, विपद्को अवस्थाका बारेमा सर्वसाधारणलाई सूसूचित गर्नु र विपद्बाट जोखिममा रहेकाहरुलाई उद्धार गर्नु राज्यको विशेष जिम्मेवारी हुन्छ । विपद्बाट जनधनको क्षति नहोस् भन्नाका लागि राज्यको सम्पूर्ण ध्यान विपद्पूर्वको तयारी र विपद्प्रतिकार्यमा केन्द्रित हुनु आवश्यक छ ।
तसर्थ विपद्पूर्वको तयारीमा विशेष ध्यान पुर्याउन, विपदको अवस्थामा आउनसक्ने संभावित जोखिमबाट जनधनको क्षतिलाई न्यूनीकरण र प्रतिकार्यका लागि राज्यका सम्बन्धित संयन्त्रहरुको प्रभावकारी परिचालन गर्न र विपद जोखिममा रहेकाहरुको उद्धारमा ध्यान केन्द्रित गर्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ । साथै, विपद्पूर्वको तयारी तथा उद्धारका कार्यमा सघाउन आयोग राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, सञ्चार माध्यम, युवापुस्ता, विभिन्न संघ संस्थाहरु एवम् सम्पूर्ण नागरिक समाजलाई आयोग आग्रह गर्दछ ।
विपद्को अवस्थामा सकेसम्म आवतजावत नगरी सुरक्षित रहन, आफूलाई प्राप्त सूचना अन्यलाई पनि प्रवाह गर्न र क्षति न्यूनीकरणका लागि आफ्नो व्यक्तिगत प्रयासलाई समेत स्वसक्रिय बनाउन समेत आयोग सर्वसाधारणलाई अनुरोध गर्दछ ।
.........................
डा. टीकाराम पोखरेल
प्रवक्ता/सहसचिव