Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

कैदीबन्दीहरुलाई कारागार फिर्ता हुन र नियन्त्रणमा लिएका हातहतियार फिर्ता गर्न आग्रह । २८ भदौ, २०८२

प्रेस विज्ञप्ति
२८ भदौ, २०८२ 

कैदीबन्दीहरुलाई कारागार फिर्ता हुन र नियन्त्रणमा लिएका हातहतियार फिर्ता गर्न आग्रह


राजधानीसहित देशका विभिन्न भागमा भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनको क्रममा कारागारबाट भागेका कैदीबन्दीहरुका कारण समाजमा त्रास र असुरक्षाको अवस्था सिर्जना भएको भनी आयोगमा जानकारीहरु प्राप्त भएका छन् । बालसुधारगृहमा रहेका व्यक्तिहरु समेत सुधारगृहबाट भागेका भनी जानकारी आएको छ । यसबाट हुन सक्ने सुरक्षा जोखिमलाई आयोगले गम्भीर रुपमा लिई अनुगमन गरिरहेको छ । 
कैद भुक्तान गरिरहेका कैदीबन्दीहरु कारागारबाट भागी बाहिर निस्कँदा नेपालको संविधानको धारा २१ मा व्यवस्था भएको अपराध पीडितको हक, अपराध पीडित संरक्षण ऐन, २०७५ तथा अपराध पीडितको अधिकार सम्बन्धी घोषणापत्र, १९८५ द्वारा प्रदत्त अपराध पीडितको न्यायको अधिकार हनन् हुन जान्छ ।


कारागारबाट भागेका कैदीबन्दीहरुका कारण विशेषगरी महिला, बालबालिका, निर्णयकर्ता एवम् अपराध पीडित र तिनको परिवारमा मनोवैज्ञानिक असर परेको पाइएको छ । बाहिर निस्किएका केही कैदीबन्दीहरुलाई सुरक्षा निकायको पहलमा नियन्त्रणमा लिइएको छ भने अधिकांश कैदीबन्दीहरु अझै कारागार प्रशासनको सम्पर्कमा नआएकोे पाइएको छ । यस सन्दर्भमा सुरक्षा निकायले कैदीबन्दीहरुको खोजी कार्यलाई तीव्रता दिनुपर्ने देखिएको छ भने मुलुकमा उत्पन्न यस विषम परिस्थितिमा कारागार फिर्ता भई कानुनी शासनको सम्मान गर्नु कैदीबन्दीहरुको पनि दायित्व हुन्छ । 


यसैगरी प्रदर्शनको क्रममा सुरक्षार्थ खटिएका नेपाल प्रहरीका हतियार र पोशाकहरु प्रदर्शनकारीहरुले नियन्त्रणमा लिएको र उक्त हतियारहरु पूर्ण रुपमा अझै पनि फिर्ता हुन नसक्दा ती हतियारहरुको दुरुपयोग भई हिंसात्मक गतिविधि हुन सक्ने देखिएको छ । सुरक्षा निकायको हतियार र पोशाक दुरुपयोग गर्नु गैरकानूनी कार्य मात्र नभई यस्तो गैरकानूनी कार्य रोक्न सहयोग गर्नु जिम्मेवार नागरिकको समेत कर्तव्य हुन जान्छ ।


अत ः हालसम्म पनि कारागारबाट भागेका कैदीबन्दीहरु र बालसुधारगृहबाट भागेका व्यक्तिहरु सम्बन्धित कारागार र सुधारगृहमा फर्कन, उनीहरुको खोजी कार्यलाई तीव्रता दिँदै शान्ति सुरक्षा कायम गर्न र कारागार एवम् बालसुधार गृहबाट निस्किएका कैदीबन्दी÷व्यक्तिहरु आफ्नो टोल छिमेकमा रहेको जानकारी भएमा तत्कालै नजिकको प्रहरी प्रशासनमा खबर गरी सहयोग गरिदिनुहुन आयोग सबैमा अपिल गर्दछ । साथै, प्रदर्शनका क्रममा नियन्त्रणमा लिएका प्रहरीका हतियारहरु फिर्ता गर्न तथा यस्ता हतियार र पोशाक दुरुपयोग भएको जानकारी प्राप्त भए सम्बन्धित निकायमा खबर गरी सहयोग पु¥याउन समेत आयोग सम्बन्धित पक्षहरुलाई आग्रह गर्दछ ।
.........................
डा. टीकाराम पोखरेल
प्रवक्ता/सहसचिव

 

Download

Nepali Version Download