Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

शान्ति सुरक्षाको नाममा गरिने व्यक्ति हत्या बन्द गरी प्रदर्शनकारीका माग पूरा गर्न कदम चाल ; आयोगका माननीय सदस्य डा. लिली थापाको नेतृत्वमा अनुसन्धान टोली गठन । २४ भदौ, २०८२

प्रेस विज्ञप्ति


२४ भदौ, २०८२ 


शान्ति सुरक्षाको नाममा गरिने व्यक्ति हत्या बन्द गरी प्रदर्शनकारीका माग पूरा गर्न कदम चाल

आयोगका माननीय सदस्य डा. लिली थापाको नेतृत्वमा अनुसन्धान टोली गठन


काठमाडौँलगायत देशका विभिन्न भागमा जेनजी पुस्ताको आह्वानमा भाद्र २३ गते भएको प्रदर्शनमा प्रहरीको गोलीबाट विद्यार्थीहरुसहित डेढ दर्जन बढी व्यक्तिको हत्या भएको र ५०० भन्दा बढी किशोर किशोरी घाइते भएको घटनाको आयोग भत्र्सना गर्दछ । शान्तिसुरक्षा र भौतिक संरचनाको संरक्षणका नाममा सुरक्षाकर्मीबाट भएको हत्या तथा हिंसात्मक कार्यलाई कदापी स्वीकार गर्न सकिँदैन । आज भाद्र २४  गते पनि प्रदर्शनकारीमाथि बिहानैदेखि दमन सुरु हुनु थप चिन्ताको विषय बनेको छ । देशका विभिन्न शहरहरुमा आयोजना भएको प्रदर्शन र सो क्रममा हुनसक्ने मानव अधिकार उल्लंघनको जोखिमप्रति संवेदनशील हुँदै आयोगले आज पनि अनुगमनलाई निरन्तरता दिएको छ । घटनामा भएको मानव अधिकारको उल्लंघनको अनुसन्धानका लागि आयोगले आज आयोगका माननीय सदस्य डा. लिली थापाको संयोजकत्वमा अनुसन्धान टोली गठन गरेको छ ।


लोकतन्त्रमा विचार र अभिव्यक्तिको स्वतन्त्रता सबैलाई छ । नवपुस्ताबाट उठाइएका विमतिका स्वरहरुलाई सरकारले समयमै संवोधन गर्नुको सट्टा हल्का रुपमा लिई त्यस्ता स्वरहरुलाई दबाउन जिम्मेवार अधिकारीले अराजनीतिक अभिव्यक्ति दिने र सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गर्दै निर्दोष बालबालिका र युवाको ज्यानै लिने सम्मको कार्यलाई कुनै पनि अर्थमा स्वीकार गर्न सकिँदैन । यस प्रकारका घटनाले नेपालको संविधानले प्रदान गरेका मौलिक हक र अन्तर्राष्ट्रिय मानव अधिकार कानूनले सुनिश्चित गरेका मानव अधिकारको गम्भीर उल्लंघन हुन पुगेको आयोगको प्रारम्भिक अनुगमनबाट देखिएको छ । 


भीड नियन्त्रण र शान्तिसुरक्षाको नाममा व्यक्ति हत्या गर्ने जस्तो गम्भीर मानव अधिकार उल्लंघनको कार्यलाई तत्काल बन्द गरी नवपुस्ताका आवाजहरुलाई समयमै संवोधन गर्नु आवश्यक छ । अतः विगतका घटनाबाट शिक्षा लिँदै आजको प्रदर्शनमा थप मानवीय र भौतिक क्षति हुन नदिनका लागि प्रदर्शनलाई गम्भीरतापूर्वक लिन र व्यक्ति हत्या गर्ने कार्यलाई शान्ति सुरक्षाको सामान्य विषय नठान्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ । साथै, प्रदर्शनलाई शान्तिपूर्ण, मर्यादित र संयमित बनाउने कार्यमा जिम्मेवार हुन आयोग प्रदर्शनरत पक्षलाई समेत आग्रह गर्दछ ।

 .........................

डा. टीकाराम पोखरेल
सहसचिव/प्रवक्ता

 

 

Download

Nepali Version Download