Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

अनशनरत मेयर तीर्थराज भट्टराईको जीवन रक्षाका लागि आग्रह, १५ साउन, २०८२


प्रेस विज्ञप्ति
१५ साउन, २०८२ 

अनशनरत मेयर तीर्थराज भट्टराईको जीवन रक्षाका लागि आग्रह

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई जैविक विविधता र रैथाने संस्कृतिको संरक्षणका लागि आवश्यक नीति निर्माणको लागि पहलकदमी गर्न, बाँसको प्रबद्र्धन गर्न, जलवायु परिवर्तनको असर कम गर्ने कार्य गर्न, गिटी क्रसर उद्योगहरु मापदण्डअनुसार सञ्चालन गर्न, खोटाङलाई बाँसको राजधानी घोषणा गर्न, निर्माण व्यवसायीलाई एउटा काम नसकी अर्को निर्माण कार्य गर्न नदिने व्यवस्था मिलाउन तथा बाँदर तथा अन्य जङ्गली जनावर नियन्त्रणको लागि नीति बनाउन भन्ने लगायतका मागहरु राखी यही साउन ११ गतेदेखि माइतिघरमा अनशन बसेको र निजको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको प्रति आयोगको ध्यानाकर्षण भएको छ । 


आयोगले उक्त अनशनस्थल माइतीघर तथा वीर अस्पताल पुगी अनुमगन गरेको छ । अनुगमनका क्रममा आयोगले अनशनरत भट्टराई, स्वास्थमन्त्री मा. प्रदीप पौडेलका साथै वीर अस्पतालका चिकित्सक र प्रशासकहरुसँग समेत जानकारी लिएको छ । निज भट्टराई माइतिघर मण्डलामा अनसन बस्ने योजना बनाई सिंहदरबार हुँदै अगाडि बढ्दै गर्दा निजलाई प्रहरीले नियन्त्रणमा लिई माइतीघर मण्डलामा ल्याएको, स्थानीय प्रशासनले अनशनका लागि रत्नपार्कस्थित शान्तिवाटिकामा जान भनिए पनि निज भट्टराईले अस्वीकार गरी माइतीघरमै अनसनमा बसेको, अनशनरत व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि  साउन १४ गते राती वीर अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना गरिएको अनुगमनका क्रममा पाइएको छ । वीर अस्पतालका अनुसार अनशनरत मेयरको स्वास्थ्य अवस्था गम्भीर (ब्लडप्रेशर, सुगर र मुटुको धड्कन कम भएको) बन्दै गए पनि निजले थप उपचारको लागि भर्ना भई उपचार गर्न अस्वीकार गरेको बुझिएको छ । वार्ताबाटै समस्या समाधानका लागि भट्टराईसँग सरकारका प्रतिनिधिहरुले अनौपचारिक छलफल गरिरहेको समेत जानकारी प्राप्त भएको छ । 


अतः निजको स्वास्थ्य उपचारमा ध्यान दिँदै वार्ताका माध्यमबाट समस्याको समाधान गरी निजको जीवन रक्षा गर्न आयोग नेपाल सरकारसँग आग्रह गर्दछ ।

.........................
डा. टीकाराम पोखरेल
 सहसचिव/प्रवक्ता

 

Download