सन्दर्भ : मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवस (३० जुलाई); मानव बेचबिखनको रोकथामलाई प्रभावकारी बनाउन आग्रह , दोषीलाई कारवाहीको दायरामा ल्याऊ । १४ साउन, २०८२
प्रेस विज्ञप्ति
१४ साउन, २०८२
सन्दर्भ : मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवस (३० जुलाई)
मानव बेचबिखनको रोकथामलाई प्रभावकारी बनाउन आग्रह
दोषीलाई कारवाहीको दायरामा ल्याऊ ।
आज मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुलाई ३०) Human Trafficking is Organized Crime – End the Exploitation भन्ने मुख्य विषय (Theme) का साथ मनाइँदै छ ।
आज विश्वमै सङ्गठित आपराधिक सञ्जालमार्फत किशोरी र महिलालाई यौन शोषणका लागि तथा किशोर र पुरुषहरूलाई जबरजस्ती श्रमको लागि सामाजिक सञ्जालहरूलाई प्रयोग गरेर सीमापारी मानव बेचबिखनको कार्य भइरहेको छ । मानव बेचबिखन सम्बन्धी विश्वव्यापी प्रतिवेदन २०२४ ले गरिबी, सशस्त्र द्वन्द्व तथा जलवायु परिवर्तनका कारण हुने विपद्ले गर्दा मानव बेचबिखन र शोषणको जोखिम बढाएको देखाएको छ । नेपाल पनि यो समस्याबाट मुक्त छैन ।
नेपाल पालेर्मो प्रोटोकलको पक्ष राष्ट्र बनेको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधनको प्रक्रियामा गए पनि प्रोटोकलअनुरुप संशोधन हुनुपर्ने अन्य राष्ट्रिय कानूनहरू संशोधन हुन सकेका छैनन् । खुला सीमानाबाट हुने मानव बेचबिखन बढ्दो अवस्थामा रहेको र बालबालिकालाई डान्सबार, सर्कस, होटललगायतमा पु¥याई श्रम तथा यौन शोषण समेत हुने गरेको पाइएको छ । बेचबिखन अन्तर्देशीय सङ्गठित अपराध समेत भएकाले पीडितलाई क्षतिपूर्ति दिलाउन र पीडकको पहिचान गरी कानूनी दायरामा ल्याउन कठिनाई उत्पन्न हुने गरेको देखिन्छ ।
मानव वेचविखन तथा ओसारपसार नियन्त्रणका सन्दर्भमा द्विपक्षीय सहयोगमा अभिवृद्धि हुन नसक्नुका साथै प्रभावितहरूको न्यायको लागि द्विपक्षीय कानूनी सहयोगको समेत अभाव देखिएको छ । स्थानीय तहसँग वैदेशिक रोजगारलगायत विभिन्न कार्यका लागि पालिका छोडी जाने व्यक्तिहरूको छुट्टै विवरण नहुँदा के कति व्यक्ति मानव बेचविखनको जोखिममा परेका हुन् भन्ने सही तथ्याङ्क समेत रहेको पाइँदैन । आप्रवासनलाई सुरक्षित, मर्यादित र नियमित बनाउन नसक्दा बेचविखन तथा ओसारपसारका घट्नाहरू बढ्दै गएका छन् । मानव बेचबिखन विरुद्धको कार्यमा तीनै तहका सरकारको प्रभावकारी भूमिका हुन नसकेको देखिन्छ ।
अतः मानव बेचबिखन विरुद्धको कार्यलाई थप प्रभाकारी बनाउन, स्थानीय तहले वैदेशिक रोजगारलगायत विभिन्न कार्यका लागि पालिका छोडी जाने व्यक्तिहरूको एकीन तथ्याङ्क राख्न, बेचबिखन जस्तो आपराधिक कार्य गर्ने पीडकलाई कारवाहीको दायरामा ल्याउन, पिडितको समयमा नै पहिचान तथा संरक्षण गर्न, पीडितलाई आवश्यक पर्ने कानूनीलगायत अन्य सहयोग समयमा नै उपलब्ध गराउन र पालेर्मो प्रोटोकलको घरेलुकरणका लागि आवश्यक सबै कानुनहरूको संशोधन गर्न अयोग तीनै तहका सरकारलगायत सम्बन्धित सबैलाई आग्रह गर्दछ ।
.........................
डा. टीकाराम पोखरेल
सहसचिव/प्रवक्ता