बाढी प्रभावितहरुको मानव अधिकारप्रति संवेदनशील बन । उद्धार, राहत र पुनर्स्थापनामा विशेष ध्यान देऊ । २५ असार, २०८२
प्रेस विज्ञप्ति
२५ असार, २०८२
बाढी प्रभावितहरुको मानव अधिकारप्रति संवेदनशील बन ।
उद्धार, राहत र पुनर्स्थापनामा विशेष ध्यान देऊ ।
रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीमा परी ठूलो धनजनको क्षति भएकोप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । आयोग उक्त घटनामा परी निधन भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्दछ । आयोग घटनामा परी घाइते हुनेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । साथै, बाढीपश्चात् धनजनको क्षति न्यून गर्न उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी तथा अरु सम्बद्ध निकायहरुबाट भएको कार्यप्रति आयोग धन्यवाद ज्ञापन गर्दछ ।
उक्त बाढीमा परेकाहरुमध्ये हालसम्म ९ वटा मानव अङ्ग फेला परेको, १९ जना अझै हराइरहेका र दर्जनौँ घाइते हुुनुका साथै सवारीसाधन, भवन, सडक, हाइड्रोपावर जस्ता भौतिक सम्पत्तिमा समेत ठूलो क्षति पुगेको विभिन्न माध्यमबाट आयोगलाई जानकारी प्राप्त भएको छ । उक्त घटनाको अनुगमनका लागि आयोगको अनुगमन टोली रसुवा पुगेको छ ।
अतः उक्त बाढीमा परी अझै हराइरहेकाहरुको खोजी कार्यलाई तीव्र बनाउन, घाइतेहरुको निःशुल्क र भरपर्दो उपचार गराउन, मृतकका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन, आवतजावतलाई सुचारु गर्न प्रभावकारी कार्य गर्न, सङ्कटको बेला हुन सक्ने कालोबजारीलाई नियन्त्रण गर्दै दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई सहज बनाउन, विपद्पूर्व, विपदको अवस्था र विपद्पश्चात गरिनुपर्ने कार्यको प्रभावकारी योजना बनाउन र सङ्कटको बेलामा हुन सक्ने मानव अधिकार उल्लङ्घनका घटनाप्रति सचेत हुन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ । साथै, यस विपद्पूर्ण घडीमा राज्यका निकायहरुले गर्ने कार्यलाई आआफ्नो भूमिकामा रहेर सघाउन समेत आयोग आमसर्वसाधारणलाई अपील गर्दछ ।
.........................
डा. टीकाराम पोखरेल
सहसचिव/प्रवक्ता