Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

प्रदर्शनलाई शान्तिपूर्ण बनाउन अपील; शान्ति सुरक्षाप्रति गम्भीर हुन निर्देशन । १४ चैत २०८१

प्रेस विज्ञप्ति


१४ चैत २०८१

प्रदर्शनलाई शान्तिपूर्ण बनाउन अपील
शान्ति सुरक्षाप्रति गम्भीर हुन निर्देशन

समाजवादी मोर्चामा संलग्न विभिन्न राजनीतिक दल र राजतन्त्र समर्थक विभिन्न राजनीतिक दल र सङ्गठनहरुले भोलि चैत्र १५ गते उपत्यकामा आफ्नो शक्ति प्रदर्शनको तयारी गरेको भनी विभिन्न समाचार माध्यममा आएका समाचारप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । प्रदर्शनीका क्रममा दुवै पक्ष आमनेसामने हुने स्थिति सिर्जना भएमा त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिले शान्तिसुरक्षामा समेत चुनौती थप्न सक्ने अवस्थाप्रति आयोगले चासो व्यक्त गरेको हो ।


यसै सन्दर्भमा आयोगले आज उपत्यकाको सुरक्षा व्यवस्थाको सम्बन्धमा काठमाडौँ र ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल प्रहरीको मानव अधिकार सेलका प्रतिनिधिसँग छलफल गरेको छ । छलफलका क्रममा सुरक्षा अधिकारीहरुले शान्ति सुरक्षाको अवस्थालाई व्यवस्थित गर्न उपत्यकाका सबै सुरक्षा निकाय बिच समन्वय गर्दै प्रदर्शनकारीका प्रतिनिधिसँग समेत छलफल गरी सुरक्षा योजना तयार पारिएको बताउनु भएको छ । आयोगका माननीय अध्यक्ष तपबहादुर मगरले शान्तिसुरक्षालाई व्यवस्थित गर्न र शान्ति सुरक्षाको प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्य मान्यतालाई आत्मसाथ गर्न निर्देशन गर्नुभएको छ । आयोगले विभिन्न टोलीहरु बनाई भोलि हुने प्रदर्शनीको मानव अधिकारको कोणबाट अनुगमन समेत गर्नेछ ।


अतः आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनमा उल्लेखित प्रावधानहरुको पालनामा संवेदनशील हुँदै अरुको अधिकारमा बाधा पर्नेतर्फ सचेत रहन र आफ्ना प्रदर्शनका कार्यलाई शान्तिपूर्ण बनाउन आयोग प्रदर्शनरत पक्षलाई अपिल गर्दछ । साथै, उत्पन्न परिस्थितिको आँकलन गर्दै शान्तिसुरक्षाको व्यवस्था मिलाउँदा मानव अधिकारप्रति संवेदनशील हुन आयोग नेपाल सरकार तथा सम्बद्ध सुरक्षा अधिकारीहरुलाई आग्रह गर्दछ ।

 ..........................
डा. टीकाराम पोखरेल
  सहसचिव/प्रवक्ता

 

Download