आप्रवासी श्रमिकहरुको मानव अधिकार संरक्षणमा जोड दिन आग्रह । ३ पुस, २०८१
प्रेस विज्ञप्ति
३ पुस, २०८१ (१८ डिसेम्बर, २०२४)
ने.सं ११४५ थिंलागा तृतिया
आप्रवासी श्रमिकहरुको मानव अधिकार संरक्षणमा जोड दिन आग्रह
आज डिसेम्बर १८ “Honouring the Contributions of Migrants and Respecting Their Rights” भन्ने अन्तर्राष्ट्रिय नारा र "सुरक्षित आप्रवासनको आधार, सूचना र सीप सहितको रोजगार" भन्ने राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस, २०२४ मनाइँदैछ। यस दिवसको उपलक्ष्यमा आयोग सम्पूर्ण आप्रवासी श्रमिक तथा सरोकारवालाहरुमा शुभकामना व्यक्त गर्दछ।
राष्ट्रिय मानव अधिकार आयोगबाट आप्रवासी नेपाली श्रमिकहरुको मानव अधिकार संरक्षणका लागि विगत लामो समयदेखि अनुगमन, अध्ययन, अनुसन्धान, उजुरी ग्रहण, गन्तव्य मुलुकहरुका राष्ट्रिय मानव अधिकार संस्थाहरुसँग द्विपक्षीय सम्झौता भई उजुरी प्रेषण जस्ता कार्यहरु हुँदै आएका छन्।यसै सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगबाट आप्रवासी नेपाली श्रमिकहरुको मानव अधिकारको सम्मान र संरक्षणका लागि नेपाल सरकारलाई मिति २०७९/१२/२१ मा ६४ बुँदे सिफारिस पठाइएको र सो सिफारिस कार्यान्वयन अवस्थाको अध्ययन तथा अनुगमन समेत भइरहेको छ।
देशको आर्थिक तथा सामाजिक स्तरोन्नतिमा आप्रवासी कामदारहरुको विप्रेषणको योगदान रहँदा रहँदै पनि आप्रवासन व्यवस्थापनमा श्रमिक र तीनका परिवारले अनुभति गर्ने गरी अपेक्षाकृत उपलब्धि हुन सकेको छैन।वैदेशिक रोजगारमा जान चाहनेहरु ठगीमा पर्ने गरेको, उद्धार तथा स्वदेश फिर्ती, हराएकाहरुको खोजी र कानुनी प्रतिरक्षाको अभावमा जेल जीवन बिताइरहेको उद्धार र आप्रवासी श्रमिकहरुको स्वास्थ्य अधिकार जस्ता कार्यहरु प्रभावकारी रुपमा हुन सकेका छैनन्। यसैगरी रुस-युक्रेन युद्दका क्रममा घाइते भएका नेपाली नागरिकहरुलाई उचित क्षतिपूर्ति, मृत्यु भएकाहरुको शव फिर्ती तथा क्षतिपूर्ति जस्ता विषयहरुमा समेत प्रभावकारी पहल हुन नसकेको, श्रमिकहरुको अधिकार संरक्षण गर्न अन्तरमन्त्रालय र अन्तरविभाग समन्वय प्रभावकारी नभएको तथा वैदेशिक रोजगारबाट फर्किएकाहरुको पुनःएकीकरण र स्वदेशमै पर्याप्त रोजगारीका अवसर सिर्जना हुन नसकेको पाइएको छ ।
अतः आप्रवासी श्रमिकहरुको अधिकार संरक्षणमा पर्याप्त लगानी गर्न, नीतिगत व्यवस्था गरि आप्रवासनका समसामयिक र उदयमान समस्याहरुको न्यायोचित र कानुनी रुपमा सम्बोधन गर्दै आप्रवासनलाई सुरक्षित, मर्यादित र नियमित बनाउनेतर्फ परिणाम देखिने गरी पहल कदमी लिन, घरेलु श्रमिक महिलाको अधिकारको संरक्षणको कार्य गर्न सरकार र सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुमा आयोग आग्रह गर्दछ ।साथै, आप्रवासी श्रमिकहरुको अधिकार संरक्षणमा अर्थपूर्ण योगदान र सहभागिताका लागि सम्पूर्ण सरोकारवालालाई आयोग अनुरोध गर्दछ ।
===========================
डा टीकाराम पोखरेल
सहसचिव/प्रवक्ता