सहकारी पीडित बचतकर्ताहरुको माग सम्बोधन गर्न आग्रह ; अनसनरत कुशलव के.सी.को जीवन रक्षा गर । ६ चैत, २०८०
प्रेस–विज्ञप्ति
६ चैत, २०८०
सहकारी पीडित बचतकर्ताहरुको माग सम्बोधन गर्न आग्रह
अनसनरत कुशलव के.सी.को जीवन रक्षा गर ।
सहकारी पीडित बचतकर्ताहरुले काठमाडौँमा २०८० चैत्र १ गते आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रहरीबाट भएको अत्याधिक बल प्रयोगबाट प्रदर्शनकारीहरु घाइते भएको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।
सहकारी पीडित बचतकर्ताहरुले काठमाडौँमा २०८० चैत्र १ गते आयोजना गरेको शान्तिपूर्ण प्रदर्शन, सुनधारामा भएको ¥याली तथा भृकुटीमण्डपमा गरिएको कोणसभाको आयोगले अनुगमन गरेको छ । सोही दिन साँझ करिब ७ बजेपश्चात सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव के.सी. लगायतका अन्य केही व्यक्तिहरुलाई प्रहरीले कुटपीट गरी घाइते बनाएको भनी आयोगमा ज्ञापनपत्र प्राप्त भएको छ । यस सम्बन्धमा आयोगमा उजूरी समेत दर्ता भएको छ । साथै, प्रहरीको कुटपिटबाट घाइते भएका अभियानका अध्यक्ष के.सी. चैत १ गतेदेखि अनसनमा रहेको र उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको आयोगलाई जानकारी प्राप्त भएको छ । हालसम्म ३०६ वटा सहकारीबाट बचत फिर्ता नभएका पीडितहरु आन्दोलनमा जोडिन आएको आयोगको टोलीलाई जानकारी प्राप्त भएको छ ।
अत ः शान्तिपूर्ण प्रदर्शन तथा सभा सम्मेलन गर्न पाउने नागरिकको संविधानप्रदत्त अधिकारको संरक्षण गर्न र अध्ययन समितिले गत भदौमा प्रधानमन्त्रीलाई पेश गरेको प्रतिवेदनको शीघ्र कार्यान्वयन गरी पीडित बचतकर्ताहरुको माग सम्बोधन गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ । साथै, अनसनरत के.सी.को स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई वार्ता र संवादको माध्यमबाट सहकारी पीडितहरुको समस्याको समाधान गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।
..............................
डा. टीकाराम पोखरेल
सहसचिव\प्रवक्ता