Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

काठमाडौँ महानगर प्रहरीबाट व्यवसायीमाथि भएको भनिएको कुटपीटको अनुगमन । चितवनमा भएको शालिन पोख्र्रेलको मृत्युको घटना सम्बन्धमा अनुसन्धान प्रारम्भ । २१ फागुन, २०८०

प्रेस नोट

२१ फागुन, २०८०
काठमाडौँ महानगर प्रहरीबाट व्यवसायीमाथि भएको भनिएको कुटपीटको अनुगमन 

          
काठमाडौँ महानगर प्रहरीले सुन्धारा आसपासका सडकमा व्यापार व्यवसाय गरिरहेका फुटपाथ व्यवसायीहरुमाथि २०८० फागुन १६ गते बेलुका कुटपिट तथा बल प्रयोग गरेको र तत्पश्चात् काठमाडौँ महानगर प्रहरी र फुटपाथ व्यवसायी बिच झडप हुँदा दुवैतर्फका ११ जना व्यक्तिहरु घाइते भएको भनिएको घटनालाई आयोगले गम्भीर रुपमा लिई अनुगमन गरिरहेको छ । 

आयोगले घटनाको सत्यतथ्य विवरण एवम् फुटपाथ व्यवसायीहरुसँग यस अघि गरिएको सम्झौताको कार्यान्वयन अवस्थासहितको जानकारी उपलब्ध गराउन काठमाडौँ महानगरपालिकालाई पत्राचार गर्नुका साथै फुटपाथ व्यवसायीहरु र सरोकारवालासँग जानकारी लिएको छ । काठमाडौँ महानगरपालिकाका प्रहरीहरुले फुटपाथ व्यवसायीहरुलाई रातको ८ बजेको समयमा कुटपिट गर्नुका साथै दुव्र्यवहार गरेको, कुटपिटबाट घाइते भएकाहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको, व्यवसायीहरुको सामान जफत भएको र केही व्यवसायीलाई पक्राउ गरी थुनामा राखिएको लगायतका सूचना अनुगमनका क्रममा आयोगलाई प्राप्त भएको छ । 

चितवनमा भएको शालिन पोख्र्रेलको मृत्युको घटना सम्बन्धमा अनुसन्धान प्रारम्भ 

त्यसैगरी, चितवनको रत्ननगर नगरपालिका – १० टाँडीस्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत १३ वर्षीय बालिका शालिन पोखे्रल मिति २०८० फागुन १२ गते सोही विद्यालयको छात्रावासमा झुण्डिएको अवस्थामा मृत फेला परेको भनिएको घटनाको प्रहरी अनुसन्धानबारे आयोगले जानकारी लिइरहेको छ । यसै सन्दर्भमा घटनाको सत्यतथ्य विवरण उपलब्ध गराउन एकता शिशु निकेतन बोर्डिङ स्कूल र शव परीक्षण प्रतिवेदन उपलब्ध गराउन त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, फरेन्सिक मेडिसिन विभाग, महाराजगञ्जलाई पत्राचार गरी घटनाबारे अनुसन्धान प्रारम्भ गरेको छ । 

उक्त घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कानून बमोजिम कारबाही गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ । साथै, अनुसन्धान प्रभावित हुने कुनै पनि गतिविधि नगर्न आयोग सम्बन्धित सबैलाई अनुरोध गर्दछ । 


..............................
   डा. टीकाराम पोखरेल
    सहसचिव\प्रवक्ता

 

Nepali Version Download