आयोगको धारणा । १७ मङ्सिर, २०८०
प्रेस–विज्ञप्ति
१७ मङ्सिर, २०८०
आयोगको धारणा
राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य मिहिर ठाकुरले बिगत केहि दिनदेखि आयोगका कर्मचारीहरु, आयोगको कार्यप्रक्रिया लगायतका विषयलाई लक्षित गरी निरन्तर सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आएका बिषयहरुले आयोग, पदाधिकारीहरू, पूर्वपदाधिकारीहरू, कमर्चारीहरूको गरिमा र मर्यादामाथि असर पर्न गएकोमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।
पछिल्लो समय आयोगका कर्मचारीहरुलाई लक्षित गरी माननीय सदस्यले फेसबुकमा राखेका ‘भ्रष्टाचार गर्ने’, ‘भ्रष्टाचारीलाई संरक्षण गर्ने’, ‘दादागिरी गर्ने’, ‘अनैतिक काम गर्ने’, ‘आर्थिक अनियमितता गर्ने’, ‘झ्यालबाट आएका’, ‘अनुशासनहीन’ जस्ता अपुष्ट विषयवस्तु तथा शब्दहरुलाई मानव अधिकारमैत्री मान्न सकिँदैन । अभिव्यक्ति स्वतन्त्रताको अधिकारको नाममा लाञ्छना लगाउने, मर्यादामाथि आँच आउने खालका घृणायुक्त अभिव्यक्तिहरु प्रयोग गरिनु दुःखद हो ।
यस्ता कार्यहरूले मानवअधिकारको संरक्षण गर्ने आयोगकोे प्रभावकारितामा नकारात्मक प्रभाव पर्ने एवम् मानव अधिकार प्रतिको प्रतिबद्धतामाथि आँच पु¥याउने र जनविश्वासमा समेत नकारात्मक प्रभाव पुग्न सक्ने देखिन्छ । यसबाट नेपालको संविधानले परिकल्पना गरेको संवैधानिक पदाधिकारीहरूको उच्च नैतिक चरित्रमा ह्रास आउनुका साथै राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरूले पालन गर्नुपर्ने आचारसंहिता, २०८० को व्यवस्था समेत पालना हुन सकेको देखिएन ।
अतः निज सदस्यले सामाजिक सञ्जालमा राख्दै आएका हाल सम्मका अभिव्यक्तिहरु निजको नितान्त निजी विचार हुन् । यो आयोगको धारणा नरहेको जानकारी गराउँदै निज सदस्य मिहिर ठाकुरले सामाजिक सञ्जालमा प्रयोग गरेको अभिव्यक्तिप्रति भ्रममा नपर्न अनुरोध गर्दछौँ । साथै मानव अधिकार संरक्षण र सम्बद्र्धनको कार्यमा निरन्तर हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्दर्छौं ।
तपबहादुर मगर
अध्यक्ष