Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

घृणायुक्त अभिव्यक्ति बन्द गर अनावश्यक; बल प्रयोग नगर । ८ मङ्सिर, २०८०


प्रेस–विज्ञप्ति
 ८ मङ्सिर, २०८०
घृणायुक्त अभिव्यक्ति बन्द गर
अनावश्यक बल प्रयोग नगर

राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईँलगायतद्वारा हिजो मंसिर ७ गते काठमाडौँमा भएको प्रदर्शन र त्यसपश्चात् विभिन्न सामाजिक सञ्जालहरुमा सार्वजनिक भएका घृणायुक्त अभिव्यक्तिहरुप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ  । आज मंसिर ८ गते दुर्गा प्रसाईं पक्षबाट प्रदर्शन गर्ने भनिएको तीनकुने र प्रसाईँको भक्तपुरस्थित निवास क्षेत्रको आयोगले अनुगमन गरेको छ । तीनकुनेमा प्रदर्शनका लागि भेला भएकाहरुलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई प्रदर्शनमा रोक लगाएको अनुगमनका क्रममा पाइएको छ ।
मंसिर ७ गते भएको प्रदर्शनलाई सम्बोधन गर्ने क्रममा दुवै पक्षबाट संवैधानिक, कानूनी र मानव अधिकारका मूल्य मान्यता र मर्यादा विपरीत एक अर्कालाई लक्षित गरी घृणायुक्त अभिव्यक्ति दिइएको, जसका कारण बल्खुमा भएको प्रदर्शन अनियन्त्रित भई झडप हुँदा केही व्यक्तिहरु घाइते समेत भएको, राज्यका निकायका उच्च तहमा रहेका व्यक्तिहरु लक्षित गाली गलौज र घृणा फैलाउने अभिव्यक्तिहरु सहितका पोष्टर तथा श्रव्यदृश्य सामग्रीहरु विभिन्न सामाजिक सञ्जालहरुमा सार्वजनिक भएको आयोगको सञ्चार अनुगमनबाट पाइएको छ । यसप्रकारका घृणायुक्त गतिविधिहरु नेपालको संविधान, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन एवम् मानव अधिकारको मूल्य मान्यता विपरीत रहेको आयोगको ठहर छ ।  
अतः आफ्ना विमति र विरोधका कार्यक्रमहरु गर्दा संविधान, कानून र मानव अधिकारका मूल्यमान्यता र परिधिभित्र रहन, कसैप्रति लक्षित गरी घृणायुक्त अभिव्यक्ति नदिन एवम् यस प्रकारका पोष्टर तथा श्रव्यदृश्य सामाग्रीहरु सामाजिक सञ्जालमा नराख्न, सामाजिक सञ्जालको दुरुपयोग रोक्न, हिंसा भड्किने प्रकारका कुनै पनि गतिविधि नगरी जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न आयोग प्रदर्शनरत पक्षलाई आग्रह गर्दछ । साथै, नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै प्रदर्शनकारीहरुमाथि अनावश्यक बल प्रयोग र धरपकड नगर्न समेत आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।  
       
 .............................
  डा.टीकाराम पोखरेल
  सहसचिव/प्रवक्ता

 

Download

Nepali Version Download