Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

प्रदर्शनलाई शान्तिपूर्ण बनाउन एवम् शान्ति सुरक्षाको प्रभावकारी व्यवस्था गर्न आग्रह । ६ मङ्सिर, २०८०

 
प्रेस–विज्ञप्ति
 
६ मङ्सिर, २०८०
 
प्रदर्शनलाई शान्तिपूर्ण बनाउन एवम् शान्ति सुरक्षाको प्रभावकारी व्यवस्था गर्न आग्रह
 
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईँलगायतद्वारा २०८० मङ्सिर ७ गते काठमाडौँमा गर्ने भनिएको प्रदर्शनको क्रममा हिंसात्मक गतिविधि हुन सक्ने भन्दै सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यमहरु मार्फत सार्वजनिक भएका सूचना तथा सामाचारहरुप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । आयोगले मानव अधिकारको दृटिकोणबाट प्रदर्शनको अनुगमन गर्ने छ ।
 
आयोगले यस सम्बन्धमा विभिन्न सामाजिक सञ्जालहरुमा आएका अभिव्यक्तिहरु एवम् सञ्चार माध्यममा प्रकाशन, प्रशारण भएका सामग्रीहरुलाई गम्भीर रुपमा लिई नजिकबाट अध्ययन गरिरहेको छ । दुवै पक्षबाट शक्ति प्रदर्शन गर्ने र आरोपप्रत्यारोपयुक्त अभिव्यक्तिहरु दिने जस्ता गतिविधिहरु भएको पाइएकोले यसबाट सर्वसाधारण नागरिकहरुमा भय र त्रासको अवस्था सिर्जना भएको पाइएको छ । 
लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्न पाइने संवैधानिक अधिकार नै हो । मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ र नेपाल पक्ष राष्ट्र बनेको नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ ले समेत शान्तिपूर्ण प्रदर्शन तथा अभिव्यक्ति स्वतन्त्रताको हकको सुनिश्चितता गरेको छ । तर प्रदर्शनलाई शान्तिपूर्ण बनाउनु र संयमता अपनाउनु प्रदर्शनकारीहरुकै प्राथमिक दायित्व समेत हुन्छ ।
 
अतः नेपालको संविधान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनमा उल्लिखित प्रावधानहरुको पालनामा संवेदनशील हुँदै आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको सम्मान गर्न, प्रदर्शनलाई शान्तिपूर्ण र संयमित बनाउन आयोग प्रदर्शनरत पक्षलाई आग्रह गर्दछ । शान्तिपूर्ण रुपमा भेला हुने अधिकारको सम्मान गर्दै नागरिकहरुमाथि अनावश्यक बल प्रयोग नगर्न तथा प्रदर्शनमा शान्ति सुरक्षाको व्यवस्थालाई प्रभावकारी बनाउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ । 
 .............................
 डा.टीकाराम पोखरेल
 सहसचिव/प्रवक्ता

Download