बाल अधिकारको सुनिश्चितता गर्न आग्रह । सन्दर्भ: अन्तर्राष्ट्रिय बाल अधिकार दिवस (नोभेम्बर २०) , ४ मङ्सिर, २०८०
प्रेस विज्ञप्ति
४ मङ्सिर, २०८०
बाल अधिकारको सुनिश्चितता गर्न आग्रह ।
सन्दर्भ: अन्तर्राष्ट्रिय बाल अधिकार दिवस (नोभेम्बर २०)
विश्वभरका बालबालिकाहरुले आफ्ना अधिकार निर्वाध रुपमा उपभोग गर्न पाउने अवस्थाको सिर्जना होस् भन्ने उद्देश्यले संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९५४ नोभेम्बर २० देखि हरेक वर्ष विश्वभर अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै आइएको छ । यस वर्षको अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको नारा For Every Child, Every Right भन्ने रहेको छ । यस अवसरमा नेपाललगायत विश्वभरका सम्पूर्ण बालबालिका तथा अधिकारर्मीहरुमा राष्ट्रिय मानव अधिकार आयोग हार्दिक शुभकामना व्यक्त गर्दछ ।
आज नेपाल लगायत विश्वमा बालअधिकारको लागि प्रसस्तै कानून निर्माण र महासन्धिहरु जारी भए पनि महासन्धि र कानूनले परिकल्पना गरे झैँ बालअधिकारको पूर्ण प्रत्याभूति हुन सकेको छैन । नेपालको संविधानको धारा ३९ मा उल्लिखित बालबालिकाको हक र बालबालिका सम्बन्धी ऐन, २०७५ जस्ता राष्ट्रिय कानून तथा नेपाल पक्ष भएको बालअधिकार सम्बन्धी महासन्धि, १९८९ ले परिकल्पना गरेको अधिकारको प्रत्याभूति हुन नसकेको तीतो यथार्थको परिणाम नेपालका बालबालिकाहरुले पनि भोग्नु परिरहेको छ । अहिले पनि नेपालमा बालबालिकाको जन्म दर्ता र पहिचानमा भएको कठिनाइ, यातना, घरेलु श्रम, जोखिमपूर्ण श्रम, यौन हिंसाको शिकार, शिक्षा र स्वास्थ्यबाट वञ्चिति, बेचविखनको जोखिम, बाल न्यायको अभाव, कारागारमा अविभावसँग आश्रित रहेका बालबालिकाहरु पूर्णमानव अधिकारको उपभोगबाट वञ्चिति, बाल सुधार गृह मानव अधिकारमैत्री नहुनु, परिवार र समाजमा बालमैत्री वातावरणको अभाव जस्ता मानव अधिकार उल्लंघनका जोखिमहरुको अवस्था यथावत् रहेको छ । बाल अधिकारको हनन् र बालयौन दूराचारमा संलग्नहरुलाई कानून बमोजिम कारवाही हुन सकेको छैन ।
अतः नेपालको संविधान, कानून र महासन्धिमा भएका प्रावधानहरुको पालना गर्न गराउन, बाल अधिकारको हनन्मा संलग्नहरुलाई कानून बमोजिम कारवाही गर्न, बालबालिकाको गाँस, बास, कपासलगायत शिक्षा, स्वास्थ्य जस्ता आधारभूत अधिकारको सुनिश्चितता गरी बाल अधिकारको रक्षा गर्न र बाल सुधार गृहको व्यवस्थित रुपमा सञ्चालनका लागि आवश्यक कार्य गर्न आयोग तीनै तहका सरकारलाई आग्रह गर्दछ । साथै, बाल अधिकारको संरक्षण र वकालतमा परिणाममुखी ढङ्गले कार्य गर्न समेत आयोग सम्पूर्ण नागरिक, अभिभावक, राजनीतिक दल, अधिकारकर्मी र सर्वसाधारणलाई अनुराेध छ ।
...........................
डा. टीकाराम पोखरेल
सहसचिव/प्रवक्ता