बालसुधार गृहहरुमा देखिएको समस्याप्रति आयोगको गम्भीर ध्यानकर्षण; आयोगबाट देशभरका सबै बालसुधार गृहको अनुगमन शुरु । ९ असोज २०८०
प्रेस नोट
९ असोज २०८०
बालसुधार गृहहरुमा देखिएको समस्याप्रति आयोगको गम्भीर ध्यानकर्षण
आयोगबाट देशभरका सबै बालसुधार गृहको अनुगमन शुरु ।
हालै भक्तपुर, बाँके, पर्सा लगायतका जिल्लास्थित बालसुधार गृहहरुमा विभिन्न विषयलाई लिएर भएका तोडफोड, झडप र उक्त घटनाबाट बालसुधार गृहमा राखिएका बालकहरुको मृत्यु भएको एवम् केही बालक घाइते भएको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । आयोगले मोरङ्ग, पर्सा, मकवानपुर, भक्तपुर, कास्की, रुपन्देही, बाँके र डोटी जिल्लाका आठवटै बालसुधार गृहहरुको अवस्था अनुगमन गरी यथाशीघ्र प्रतिवेदन पेश गर्नका लागि आयोगका सबै प्रदेश तथा प्रदेश शाखा कार्यालयहरुलाई पत्राचार गरेको छ । भक्तपुरको मध्यपुरस्थित बाल सुधारमा भएको घटनाका सम्बन्धमा स्थलगत अनुसन्धान गर्न केन्द्रीय कार्यालयको टोली आजै खटिइसकेको छ । त्यस्तै, लुम्बिनी प्रदेश शाखा कार्यालय नेपालगञ्जको टोलीले बाँकेको डुडुवा गाउँपालिकास्थित बालसुधार गृहमा भएको घटनाको निरन्तर अनुगमन गरिरहेको छ ।
भक्तपुरको मध्यपुरस्थित बालसुधार गृहभित्र सामान्य बिरामी परेका कमल बस्नेतको उपचार अभावमा मिति २०८०/५/३ गते मृत्यु भएको र उक्त विषयलाई लिएर बालसुधार गृहका बालकहरुको समूहले ढुङ्गामुढा तथा तोडफोड गरी सुधार गृहबाट भागेका थिए । बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा केही दिन अघि दुई समूहबिच झडप हुँदा गम्भीर घाइते भएका रुपन्देहीका सुलभ केसीको उपचारका क्रममा मृत्यु भएको र अन्य १० जना घाइते भएको विभिन्न माध्यमबाट आयोगलाई जानकारी प्राप्त भएको छ । त्यसैगरी, पर्सा र कास्कीस्थित बालसुधार गृहहरुमा समेत समस्या देखिएका समाचारहरु सञ्चारमाध्यममार्फत सार्वजनिक भएका छन् ।
...........................
डा. टीकाराम पोखरेल
सहसचिव/प्रवक्ता