Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

देशका विभिन्न भागमा घटेका घटना र अभिव्यक्तिप्रति आयोगको गम्भीर ध्यानाकर्षण; छानविन गरी दोषीलाई कानूनी दायरमा ल्याउन आग्रह। २९ भाद्र, २०८०

प्रेस विज्ञप्ति
२९ भाद्र, २०८०

देशका विभिन्न भागमा घटेका घटना र अभिव्यक्तिप्रति आयोगको गम्भीर ध्यानाकर्षण
छानविन गरी दोषीलाई कानूनी दायरमा ल्याउन आग्रह
विगत केही दिनयता देशका विभिन्न भागमा घटेका आपराधिक घटना, कतिपय जिम्मेवार पदाधिकारीबाट नै व्यक्त धारणा र आरोपप्रत्यारोपप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाली काङ्ग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँमा सांघातिक आक्रमण भएको, जसपाका जिल्ला अध्यक्ष राजकुमार यादवमाथि प्रहरीबाट मोरङमा दुव्र्यवहार भएको, चिकित्सकहरुमाथि कुटपीट भएको भन्दै हेटौँडा अस्पतालका ७८ जना चिकित्सकले राजिनामा दिएको जस्ता घटनाहरु आयोगको जानकारीमा आएका छन् । यसैगरी, काठमाडौँका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत सिंहदरबारमा आगो लगाइदिन्छु भनी लेखेको, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले कर्मचारीलाई आत्महत्या गर्ने भए डोरी किनिदिन्छु भनेको, ताप्लेजुङमा कोशी प्रदेशसभा सदस्य खगेन सिं हाङ्गामले सुरक्षा निकायका प्रमुखलाई सार्वजनिक स्थलबाटै धम्की दिएको भनी आमसञ्चारमाध्यममा प्रचारप्रसार हुनुका साथै सामाजिक सञ्जालमा समेत प्रयोगकर्ताहरुबाट एक अर्काप्रति असहिष्णु र घृणात्मक अभिव्यक्ति दिइएको पाइएको छ । यसप्रकारका आपराधिक र अराजक गतिविधिले अराजकतालाई प्रश्रय दिने र शान्तिसुरक्षामा समेत आँच पुग्न गई राज्य संयन्त्रप्रति नै अविश्वास पैदा हुने संभावना रहन्छ ।
नेपालको संविधान र मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानूनहरुले अभिव्यक्ति तथा विचारको स्वतन्त्रताको प्रत्याभूति गरेको भए तापनि अरुको मर्यादामा आँच आउने र शान्ति सुरक्षामा आँच पुग्न सक्ने विषयलाई विशुद्ध विचार र अभिव्यक्ति स्वतन्त्रताको मात्र विषय मान्न सकिँदैन । आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारमा पर्नसक्ने असरप्रति जिम्मेवार व्यक्तिले सधैँ ध्यान पुर्याउनु आवश्यक हुन्छ ।
अतः कसैले पनि नेपालको संविधान, कानून र अन्तर्राष्ट्रिय मानव अधिकार कानून विपरीत हिंसात्मक गतिविधि नगर्न, घृणाजन्य अभिव्यक्ति नदिन तथा सामाजिक सञ्जालको प्रयोग गर्दा शिष्ट र मर्यादित भएर एकअर्काप्रति मानव अधिकारमैत्री भाषा र व्यवहार प्रयोग गर्न आयोग सम्बद्ध सबैलाई विशेष आग्रह गर्दछ । साथै, कानूनको शासन र मानव अधिकारको प्रत्याभूतिका लागि यसप्रकारका आपराधिक तथा अराजक गतिविधि र घटनामा संलग्न आरोपितलाई कानूनबमोजिम कारवाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति गर्न, गराउन आयोग नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।
............................
डा. टीकाराम पोखरेल
सहसचिव/प्रवक्ता

Nepali Version Download