सामाजिक सद्भाव कायम राख्न आयोगको अपिल वार्ताको माध्यमबाट समस्याको समाधान खोज । ९ भदौ २०८०
जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार राति १२ बजेदेखि २४ घण्टाको लागि धरान उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गर्दा उत्पन्न परिस्थितिप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानार्षण भएको छ । आयोगले यस संवेदनशील विषयमा विभिन्न माध्यमबाट जानकारी लिनुका साथै अनुगमन गरिरहेको छ ।
धरान उपमहानगरपालिका क्षेत्रमा केही दिनअघि गोरु काटेको र हिन्दू मन्दिर अगाडि चर्च बनाएको विषयलाई लिएर स्थानीयले आज र्याली निकाल्ने तयारी गरिरहँदा साम्प्रदायिक, सामाजिक, साँस्कृतिक एवम् राजनीतिक हिंसा भड्किन सक्ने संभावित घटना रोक्न सबै भेला तथा कार्यक्रमहरु रोकिएको आयोगको अनुगमनको क्रममा बुझिएको छ ।
नेपालको संविधानको प्रस्तावनामा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधता बिचको एकता, सामाजिक, साँस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रबद्र्धन गर्ने उल्लेख गरिएको छ । उल्लिखित संवैधानिक व्यवस्थाका साथै संयुक्त राष्ट्र संघको बडापत्र, मानव अधिकारको विश्वव्यापी घोषणापत्र तथा नेपाल पक्ष राष्ट्र भएका महासन्धिका व्यवस्थाहरुलाई समेत आत्मसात गर्दै सामाजिक सद्भाव कायम गर्नु, गराउनु सबैको कर्तव्य हुन आउँछ ।
अत ः साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हँुदै संयमता अपनाउन एवम् सामाजिक सद्भाव कायम राख्न आयोग सम्बद्ध सबै पक्षलाई अपिल गर्दछ । साथै, एक आपसमा देखिएका विमतिहरुलाई वार्ताको माध्यमबाट समाधान खोज्न आयोग सबै पक्षलाई आग्रह गर्दछ ।
.........................
डा. टीकाराम पोखरेल
प्रवक्ता/सहसचिव