Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

चिया बगानमा कार्यरत श्रमिकहरुको अधिकार सुनिश्चित गर्न आग्रह । २३ साउन, २०८०

झापा जिल्लाका चिया बगानमा कार्यरत श्रमिकहरु श्रम ऐन तथा नियमावलीबमोजिम न्यूनतम पारिश्रमिक लगायतका सेवा सुविधा नपाएको भन्दै मिति २०८० असार ३१ गतेदेखि आन्दोलनमा रहेको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । आयोगको कोशी प्रदेश कार्यालयले यस सम्बन्धमा अनुगमन गरिरहेको छ ।
चिया बगानमा कार्यरत श्रमिकहरुले न्यूनतम पारिश्रमिक एवम् सामाजिक सुरक्षा कोष ऐन, २०७४ अनुसार पाउनु पर्ने सेवा सुविधा पाउन नसकेको, करिब ८० प्रतिशत महिला श्रमिक कार्यरत रहेकोमा प्रचलित कानुन अनुसारको सुत्केरी बिदा नपाएको, गाँस, बास, कपास, खानेपानी, शौचालय, शिक्षा, स्वास्थ्यको उपयुक्त प्रबन्ध नरहेको, रोजगारदाताले तलब, भत्तालगायतका सेवा सुविधा समयमा उपलब्ध नगराएको, बिषादीका कारण श्रमिकहरु दीर्घ रोगी बन्नु परेको, न्यूनतम तलब २÷२ वर्षमा पुनरावलोकन भई वृद्धि हुनुपर्नेमा नभएको, सेवानिवृत्त श्रमिकले पाउनुपर्ने सेवा सुविधा नपाएको, राजीनामा वा मृत्यु भई सेवाबाट बाहिरिँदा उपदान वापत पाउनुपर्ने रकम प्राप्त गर्न बर्षाँै कुर्नुपर्ने बाध्यता रहेको, पेशागत स्वास्थ्य र सुरक्षाको उचित प्रबन्ध हुन नसकेको आयोगले हालै झापा तथा इलामका चिया बगानमा गरेको अनुगमनबाट पाइएको छ ।
नेपालको संविधानको धारा ३४ ले प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक, उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको छ । त्यस्तै, श्रम ऐन २०७४ ले रोजगार सम्झौता नगरी काममा लगाउन नपाइने, सामाजिक सुरक्षाको व्यवस्था, साप्ताहिक, सार्वजनिक, सट्टा, घर, बिरामी, प्रसूति, किरिया लगायतका बिदाको व्यवस्था गरेको छ । साथै, सञ्चय कोष, उपदान, औषधी उपचार बीमा, दुर्घटना बीमा, व्यवसायजन्य सुरक्षा, आश्रित परिवारलाई आवासको प्रबन्ध, निशुल्क प्राथमिक उपचारलगायतका व्यवस्थाहरु पनि श्रम ऐन २०७४ ले गरेको छ । नेपाल पक्ष राष्ट्र भएको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिले व्यक्तिको काम गर्ने अधिकार, न्यूनतम पारिश्रमिक, विश्राम, फुर्सद तथा कार्य घण्टाको उचित सीमाङ्कन, वृत्तिविकासको अधिकार, ट्रेड युनियन खोल्ने लागायतका अधिकारहरुको उल्लेख गरेको छ । उल्लिखित कानूनहरुको कार्यान्वयनमा सम्बन्धित पक्ष संवेदनशील हुन नसक्दा चिया बगानमा कार्यरत श्रमिकहरु लामो समयदेखि विभिन्न समस्याहरु झेल्दै आइरहेका छन् ।
अत ः श्रमिकहरुको अधिकारको सम्मान गर्दै न्यूनतम तलब सुविधाको आवधिक पुनरावलोकन गर्न, पेशागत स्वास्थ्य र सुरक्षाको उचित व्यवस्था गर्न, सामाजिक सुरक्षा कोषमा चिया बगानका श्रमिकहरुलाई आबद्ध गर्न, उपदानवापत श्रमिकले पाउने रकम समयमै उपलब्ध गराउने व्यवस्था गर्न र वार्ताको माध्यमबाट आन्दोलनरत श्रमिकका उचित मागहरु तत्काल सम्बोधन गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आयोग आग्रह गर्दछ ।   
  .........................
 डा. टीकाराम पोखरेल
सहसचिव/प्रवक्ता

 

Download

Nepali Version Download