भ्रष्टाचार नियन्त्रण, सुशासन र मानव अधिकारको लागि सरोकारवाला बिच समन्वय आवश्यक । ८ असार, २०८०
प्रेस-नोट
८ असार, २०८०
भ्रष्टाचार नियन्त्रण, सुशासन र मानव अधिकारको लागि सरोकारवाला बिच समन्वय आवश्यक
राष्ट्रिय मानव अधिकार आयोगले आज भ्रष्टाचार नियन्त्रण, सुशासन र मानव अधिकारमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न गरेको छ । अन्तरक्रियाका वक्ताहरुले भ्रष्टाचारको नियन्त्रण, सुशासन र मानव अधिकारको सुनिश्चितताका लागि सरोकारवाला बिच समन्वयात्मक पहल हुनु आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष तपबहादुर मगरले भ्रष्टाचारको विषय मानव अधिकारको उपभोगमा प्रत्यक्ष रुपमा जोडिने हुनाले आयोगले प्राथमिकताका साथ कार्य गर्ने बताउनुभयो । साथै, भ्रष्टाचारले मानव अधिकारको उपभोगमा पर्न जाने असरको न्यूनीकरणका लागि आयोग सरोकारवालाको साथ लिएर क्रियाशील हुने जानकारी समेत उहाँले गराउनु भयो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले भ्रष्टाचार, सुशासन र मानव अधिकार एवम् यसको कार्यान्वयनमा देखिएका चुनौतीहरुबारे प्रस्तुतिकरण गर्नुभएको थियो । नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि कानुन र संरचनाहरु रहेको तर राजनीतिक नेतृत्व र प्रशासनिक उदासिनताले भ्रष्टाचार विरुद्धका कानुनहरु कार्यान्वयनमा आउन नसकेकोले संविधान, कानुन एवम् राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतिबद्धताहरु कागजी रुपमा सीमित रहेको बताउनुभयो । वित्तीय शासन र यसका चुनौतीहरुबारे प्रस्तुतिकरण गर्दै पूर्व महालेखापरीक्षक टंकमणि शर्माले नेपालमा भ्रष्टाचारले महामारीको रुप लिँदै गएकोले सोही बमोजिमको उपचार प्रणाली अपनाउनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रमका वक्ताहरुले पछिल्ला दिनमा नीतिगत भ्रष्टाचार मौलाउँदै गएकोमा चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणका लागि भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा जिम्मेवार निकाय, क्रियाशील संघ संस्था एवम् अधिकारकर्मीहरु सबै सरोकारवालाहरुको समन्वयात्मक पहल हुनु आवश्यक रहेको बताए । उनीहरुले न्यायिक क्षेत्रमा हुने भ्रष्टाचारका कारण पीडितले न्याय पाउन नसकेको, विकास व्यवस्थापनमा हुने भ्रष्टाचारका कारण विकास निर्माणका कामहरु समयमै सम्पन्न हुन नसकेको, व्यवस्थापिकाले समयमै कानून बनाउन नसकेको एवम् नीतिगत भ्रष्टाचारका कारण मुलुकको आर्थिक अवस्था कमजोर बन्दै गइरहेको विषयलाई उठाउँदै यसको नियन्त्रण गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिएका थिए । आगामी दिनमा विज्ञहरु सम्मिलित एक समिति बनाई भ्रष्टाचार र मानव अधिकारको क्षेत्रमा कार्य गर्नुपर्ने सुझाव समेत सहभागीहरुबाट आयोगलाई प्राप्त भएको छ ।
आयोगका माननीय अध्यक्ष तपबहादुर मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न विषयगत संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधिहरु, आयोगका पदाधिकारी र कर्मचारीहरु एवम् भ्रष्टाचार नियन्त्रणमा क्रियाशील सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
.........................
डा. टीकाराम पोखरेल
सहसचिव/प्रवक्ता