धर्नामा रहेका ‘मिटरब्याज’ पीडितहरुमाथि प्रहरीद्वारा भएको अत्यधिक बल प्रयोग र धरपकडप्रति आयोगको गम्भीर ध्यानाकर्षण । ५ वैशाख, २०८०
प्रेस विज्ञप्ति
५ वैशाख, २०८०
धर्नामा रहेका ‘मिटरब्याज’ पीडितहरुमाथि प्रहरीद्वारा भएको अत्यधिक बल प्रयोग र धरपकडप्रति आयोगको गम्भीर ध्यानाकर्षण न्यायको माग राखी विगत केही दिनदेखि काठमाडौँको शान्ति वाटिकामा धर्नामा बसेका ‘मिटरब्याज’ पीडितहरुमाथि प्रहरीद्वारा अत्यधिक बल प्रयोग गरी घाइते बनाएको एवम् धरपकड गरिएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।
उक्त घटनाको आयोगले स्थलगत अनुगमन गरेको छ । काठमाडौँको शान्ति वाटिकामा शान्तिपूर्ण धर्नामा रहेका ‘मिटरब्याज’ पीडितहरु प्रधानमन्त्रीलाई भेट्ने तयारीका साथ शान्ति वाटिकाबाट निस्केको अवस्थामा प्रहरीबाट रोक लागाइएको र सोही क्रममा झडप भएको आयोगको अनुगमनबाट पाइएको छ । सो क्रममा धर्नामा रहेका व्यक्तिहरुलाई प्रहरीले अत्यधिक बल प्रयोग गर्दै धरपकड गरेको, पीडितहरुले प्रयोग गरिरहेको खाना पकाउने ग्याँस, खाद्यान्नलगायतका सामग्रीहरु जबरजस्ती गरी लगिएको, धर्नामा रहेका प्रदर्शनकारी र वृद्धवृद्धाहरुलाई समेत नियन्त्रणमा लिई महेन्द्र पुलिस क्लबको भवन परिसरमा लगी कुटपिट गरिएको आयोगको अनुगमनबाट पाइएको छ । प्रहरीको कुटपिटबाट घाइते भई काठमाडौँको ट्रमा सेन्टरमा उपचाररत व्यक्तिहरु, अस्पताल प्रशासन तथा महानगरीय प्रहरीवृत्त दरबारमार्गमा राखिएका व्यक्तिहरुलाई समेत अयोगको अनुगमन टोलीले भेट गरी जानकारी लिएको छ । घाइतेहरुमध्ये अधिकांशलाई टाउकोमा चोट लागेको र ट्रमा सेन्टरमा उपचाररत तीनजना गम्भीर घाइते भएको आयोगको अनुगमनको क्रममा पाइएको छ ।
उल्लिखित घटनाबाट मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९, नेपालको संविधानको धारा १७ एवम् नेपाल पक्ष भएको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ को धारा १९ मा उल्लेखित नागरिकको मर्यादित रुपमा विचार राख्ने र शान्तिपूणर् गतिविधि गर्ने स्वतन्त्रताको गम्भीर उल्लंघन भएको छ । नागरिकहरुका यी अधिकारहरुको सुनिश्चितता गर्नु राज्यको दायित्व हुन्छ । अतः नागरिकको शान्तिपूर्ण रुपमा भेला हुने र आफ्ना विचारहरु राख्न पाउने अधिकारको सम्मान र संरक्षण गर्न, प्रदर्शनकारीहरुमाथि अत्यधिक बल प्रयोग नगर्न, घाइतेहरुको प्रभावकारी उपचारको व्यवस्था गर्न र सार्थक संवादमार्फत समस्याको समाधान गर्न आयोग नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ । साथै, विरोध र प्रदर्शन गर्दा मर्यादित र शान्तिपूर्ण रुपमा गर्न धर्नामा बसेकाहरुलाई समेत आयोग अनुरोध गर्दछ ।
..........................
डा.टीकाराम पोखरेल
प्रवक्ता/सहसचिव